झापा । झापाको सुरुङ्गामा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । श्रीमानको हत्या आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा कुटपिट भएकाे प्रहरीकाे भनाइ छ ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा ४५ वर्षीया श्रीमती सुनिता कार्कीको कुटाईबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्कीको ज्यान गएको हो । प्रहरीका अनुसार गत वैशाख ८ गते श्रीमती सुनिताले शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा श्रीमान् टेकबहादुर सख्त घाइते बनेका थिए । आइतबार बिहान घाइते कार्कीको मृत्यु भएको हो ।
मृत्युपछि सुनितालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । सुनिता र टेकबहादुरबीच गत वैशाख ८ गते बेलुका घरायसी विवाद हुँदा सुनिताले कुटपिट गरेकी थिइन् । कुटाइबाट घाइते भएका कार्कीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारपश्चात् घर ल्याएकोमा आइतबार बिहान ७ बजे घरैमा मृत्यु भएको थियो ।
डेरा गरी बस्ने कार्की दम्पत्ती दुबै जना ज्याला मजदुरी गरि परिवार पाल्दै आएका थिए । टेकबहादुरको शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी रिजालले बताए ।