झापा । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका अव्यवस्थित घरटहरा भत्काएको छ । बिर्तामोड ५ स्थित बजार क्षेत्रमा वर्षौंदेखि अव्यवस्थितरुपमा रहेका घरटहरा नगरपालिकाले जेसीबी लगाएर भत्काएको हो ।

 

बहुउद्देश्यीय व्यावसायिक भवन बनाउनका लागि उक्त स्थान खाली गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बल प्रयोग गरी घरटहरा भत्काउँदा करिब २ सय व्यापारी मारमा परेका छन् । नगरपालिकाले विकल्प नदिई टहरा भत्काउँदा वर्षौंदेखि व्यवसाय गर्दै आएकाहरुको रोजीरोटी नै गुमेको स्थानीय टिकाराम बस्नेतको आक्रोश थियो ।

 

नगरपालिकाले भने ३५ दिनेसहित पटकपटक सूचना जारी गरी पसल तथा टहरा खाली गराउन निर्देशन दिएको थियो । समाजसेवी रामबाबु प्रसाईंले आफ्ना पिता स्व देवीप्रसादको नाममा १ बिघा ३ कट्ठा जमिन साप्ताहिक हाट लगाउन तत्कालीन अनारमनी गाविसलाई निःशुल्क दान दिएका थिए । उक्त जमिनमा करिब चार दशकदेखि बिर्तामोड बुधबारे हटिया लाग्दै आएको थियो । एक दशकयता उक्त स्थानमा दैनिक बजार लाग्ने गरेको थियो ।

 

नगरपालिकाले २०७१ मा बुधबारे बजार व्यवस्थापन समितिको अगुवाइमा ७० वटा सटर निर्माण गरी भाडामा लगाएको थियो । करिब ५ कट्ठा जमिनमा ७० वटा सटर निर्माण गरिएका थिए । ती सटर पूर्वपट्टि करिब ६ कट्ठा जमिनमा स्थानीय व्यापारीले आफैं ११० वटाभन्दा बढी टहरा निर्माण गरी व्यवसाय गर्दै आएका थिए ।

 

बाँकी जमिनमा करिब २५ घरपरिवारले टहरा बनाएर बसोबास र व्यापार गर्दै आएका थिए । उक्त स्थानमा कपडा, जुत्ता–चप्पल, कस्मेटिक तथा पेय पदार्थका होटल थिए ।

 

व्यापारीले विकल्पबिना टहरा भत्काउन नदिने भन्दै केहीबेर जेसीबीलाई रोक्ने प्रयास गरेका थिए । उक्त क्रममा व्यापारी र स्थानीयले ढुंगा प्रहार गर्दा एउटा जेसीबीको सीसाहरु फुटेको छ । घरटहरा भत्काउन नगरपालिकाले १० वटा जेसीबी प्रयोग गरेको थियो । इकान्तिपुरबाट