झापा । झापाको शिवगञ्ज बजारमा रहेका पसलहरू फुटाएर चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ५ स्थित आमवारी टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवगञ्ज बजार आधा दर्जनभन्दा बढी पसलमा चोरीका घटना भएको थियो । पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरी भएका सामानसहित मङ्गलबार पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै, चोरी घटनामा प्रयोग हुने विभिन्न औजारसमेत उनको घरबाटै फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।