शनिश्चरे । बहुआयामिक व्यक्तित्व डा. भोला रिजाललाई झापाको अर्जुनधारामा स्वर्ण अलंकार राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

 

अर्जुनधारा ७ स्थित रुपरत्न हरि प्रतिष्ठान झापाले बरिष्ठ चिकित्सक डा. रिजाललाई एक भव्य समारोहका बीच बिहीबार नगद र मेडलसहित सम्मान गरेको हो । ९ वर्षअघि स्थापित प्रतिष्ठानले ३-३ वर्षमा विशेष योगदान पुराउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

 

प्रतिष्ठानका अध्यक्ष हरिलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको चिकित्सकीय क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै डा. रिजाललाई नगद ५१ हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा उनकी धर्मपत्नी सरला रिजाल घिमिरेलाई दोसल्ला ओढाइएको थियो ।

 

चिकित्सकसँगै, साहित्यकार, गायक, रचनाकार, संगीतकार, चलचित्र निर्माता आदि बहुआयामिक व्यक्तित्वको पहिचान बनाउन सफल डा रिजालको व्यक्ति परिचय उल्लेख गरिएको सम्मान पत्र प्रष्ठिानका महासचिव लोकनाथ पौड्यालले प्रस्तुत गरेका थिए ।

 

स्कूलकी छात्रा खुसी गिरीले डा. रिजालको रचनामा गीत प्रस्तुत गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व डा रिजाल, साहित्यकार पुण्यप्रसाद खरेल, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, परिवारका सदस्य पदमलाल श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । सोही कार्यक्रममा चित्रा पौड्यालले कविता वाचन गरेकी थिइन् ।

 

२०७१ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि २०७२ सालमा डा भेषराज प्रसाईं र २०७५ सालमा डा महेश खकुरेललाई सम्मान गरेको थियो । स्थानीय रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूलको सभाहलमा डा लोकराज बरालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।