विराटनगर । कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका कम्तिमा ५८ जना घाइते भएका छन् । विराटनगरस्थित प्रदेशसभाको हलमा आइतबारदेखि बजेट अधिवेशन सुरु भइरहँदा बाहिर सडकमा भने आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको थियो ।

 

आइतबार प्रदेशसभाको बजेट अधिवेशन बोलाइएकोमा प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमणमा उत्रेपछि प्रहरीले पानीको फोहोरा, हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको थियो । त्यति गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप नै भएको हो ।

 

प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएको थियो । प्रदर्शनमारीले भाटा, ढुंगा, गुलेली, बोत्तलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ आउने र प्रहरीले धपाउने क्रम चलेको थियो ।

 

झडपमा परी ५८ जना घाइते भएका छन् । नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी जम्मा ५८ जना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले बताए ।

 

आन्दोलनकारीले आइतबार बिहानै निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि ४५ जनालाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि प्रदेशसभा सुरु हुने समयमा विभिन्न जिल्लाबाट विराटनगर आएका आन्दोलनकारीहरुले देवकोटाचोकमा निषेधित क्षेत्र तोडेर प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभा घेराउ गर्ने प्रयास गरेका थिए । त्यसक्रममा फेरि झडप भएको थियो ।

 

आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले ९४ सेल अश्रुग्याँस प्रहार गरेको थियो । तैपनि स्थिति नियन्त्रणमा नआएपछि पानीको फोहोरा प्रहार गरेका थिए । आन्दोलनकारी उग्र बनेपछि प्रहरीले ३८ राउण्ड हवाइ फायर गरेको प्रजिअ यादवले बताए ।

 

प्रहरीले बाहिर जिल्लाबाट आउने सवारी साधनलाई राजमार्गदेखि नै जाँच गर्दै आन्दोलनकारीको सवारी रोकेका थिए । तर, आन्दोलनकारीहरु विराटनगर आउन सफल भएका थिए । स्थानीय प्रशासनले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय र निवासलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

 

प्रजिअ यादवले पक्राउ परेका आन्दोलनकारीहरुलाई बिना सर्त रिहाइ गर्ने अवस्था नभएको बताए । उनले मन्त्रालयलगायत क्षेत्रमा क्षति हुनुका साथै सुरक्षाकर्मीहरुलाई गम्भीर घाइते बनाएकाले पक्राउ परेकाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए ।