बिर्तामोड । बिर्तामोड क्षेत्रमा गैरनेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको अवरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् ।
बिर्तामोड क्षेत्रमा मात्र २५० जनाभन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली व्यवसायीले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । बिहीबार बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै तत्काल नियन्त्रण नगरे नेपाली चालकले आफैँ नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।
पूर्वेली मजदुर यातायात प्रालिको अगुवाईमा सयौं अटो चालकहरुले बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अवैध अटो सञ्चालन गरेको भन्दै नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । भारतीय चालकहरुले यात्रुसँग जथाभावी भाडा असुल्ने, लागुऔषधको संगठित कारोबार गर्ने, यात्रुको मालसामान चोरी गर्ने दुर्घटना गराई फरार हुनेसम्मका गतिविधि बढेको भन्दै नियन्त्रणको माग गरेको पुर्वेली यातायातका अध्यक्ष हरिप्रसाद बाँस्कोटाले बताए ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले यसै आर्थिक वर्षदेखि कानुन निर्माण गरी अटो रिक्सालाई दर्ता गर्ने प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छन् । उनले गैरकानुनी तवरले चलाइरहेका अटो रिक्सालाई तत्काल नियन्त्रणमा लिने प्रतिबद्धता पनि जनाएकी छन् ।
संघले बिहीबार नै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यस विषयमा ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईको नेतृत्वमा पुगेको टोलीले ट्राफिक प्रहरीलाई यस विषयमा सक्रियता बढाउन आग्रह गरेको थियो ।
बिहीबारसम्ममा अवैध सञ्चालनमा रहेका १० वटा अटो रिक्सालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । आगामी दिनमा प्रभावकारी ढंगले यसलाई नियमन गर्न ट्राफिक प्रहरी परिचालन हुने उनले बताए ।