झापा । अर्जुनधारा नगरपालिका ४ बाट अवैध तवरले नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी र तीनवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

हिजो (बिहीबार) साँझ ७ बजे झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको एउटा जेसीबी र मे. १ ख ३१५५, प्र. १–०१–००१ क ९२४, र मे. १ ख।२८४८ नम्बरको ३ वटा टिपरले अवैध तवरले खोला उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

ती सवारीसाधनलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यसैबीच, इलामको माइ नगरपालिकाबाट पनि प्रहरीले अवैधरुपमा उत्खनन् गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महमाई इलामले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

 

माई नगरपालिका ७ स्थित माइखोला पुलनजिक जेसीबी लगाई खोलाजन्य पदार्थ उत्खनन् गरी ओसारपोसार गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

 

जेसीबीसहित ४ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि शुक्रबार माइ नगरपालिकाको कार्यालय इलाममा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।