शनिश्चरे । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे अस्पतालमा आइतबारदेखि ओपीडी (बहिरंग) सेवा विस्तार गरिएको छ । अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीको चाप बढ्न थालेपछि ओपीडी सेवा विस्तार गरिएको हो ।
सेवाग्राहीको भीड व्यवस्थापन तथा उनीहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले ओपीडी सेवा विस्तार गरिएको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले जानकारी दिए । यसअघि १० बजेदेखि ५ बजेसम्मको सेवालाई थप दुई घण्टा विस्तार गरिएको छ ।
शाखाका संयोजक बस्नेतका अनुसार अब सेवाग्राहीहरुले विहान ८ बजेदेखि ५ बजेसम्म विशेषज्ञसहितको चिकित्सकहरुबाट ओपीडीको सेवा प्राप्त गर्नेछन् । त्यसैगरी नियमित औषधि सेवन गर्ने बिरामीलाई लक्षित गरी कोभिड १९ महामारीको समयबाट प्रत्येक दिन विहान ७ बजेदेखि सञ्चालन हुँदै आएको पुरानो पुर्जाको आधारमा नयाँ पुर्जामा औषधि वितरण गर्ने कार्यलाई अस्पताल प्रशासनले रोक लगाएको छ ।
चिकित्सकबाट बिरामीहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र स्वास्थ्य अवस्था तथा रिपोर्टको आधारमा औषधि थपघट गर्नु भनि स्वास्थ्य बीमा बोर्डले परिपत्र गरेको हुँदा उक्त कार्यलाई रोक लगाइएको अस्पताल प्रशासनबाट जारी भएको सूचनामा उल्लेख गरिएको छ । । अब बीमाबाट पाइने सेवाका लागि बिरामी आफैँ आएर चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।
त्यसैगरी अस्पतालले आगामी साउनदेखि अत्याधुनिक कलर डपलरसहितको फोरडी भिडियो एक्सरे सेवा, डिजीटल एक्सरे सेवा, उच्च प्रविधियुक्त अत्याधुनिक ल्याब सेवा, हाल सञ्चालनमा रहेको फार्मेसीलाई थप व्यवस्थित गर्ने र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिकाहरुका लागि छुट्टै ओपीडी कक्ष सञ्चालन गर्ने बताइएको छ ।
शाखाका अनुसार हाल अस्पतालमा एक जना विशेषज्ञ एमडीजीपी डाक्टर दीक्षान्त प्रसाईं, मेडिकल अफिसरहरु डा अभिषेक देव, डा अमृतराज गिरी, डा आरती पाण्डे र डा निमेश श्रेष्ठबाट बिरामीको स्वास्थ्य परीक्षण भइरहेको छ ।
२०७७ साल असोजमा १५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको यस अस्पतालमा अर्जुनधारासँगै छिमेकी जिल्ला इलामको माई र रोङ, छिमेकी पालिका बिर्तामोड र बुद्धशान्तिबाट सेवाग्राहीहरु आउने गरेका छन् भने अस्पतालमा दैनिक औषत तीन सयदेखि तीन सय ५० जनाले सेवा लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक सन्तोष चिमरीयाले जानकारी दिए ।