शनिश्चरे । नेपाल रेडक्रस सोसाइटी झापाको आयोजनामा झापाको अर्जुनधारामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका विषयक छलफल गरिएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनको अध्यक्षतामा आयोजित छलफलमा नेरेसो झापाका अध्यक्ष लोकराज ढकालले विपदको परिचय र विपदका २ प्रकारका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
प्राकृतिक विपद् र मानवजन्य विपदबाट उत्पन्न समस्यका बारेमा जानकारी गराउँदै अध्यक्ष ढकालले विपदले मानवीय क्षति, आर्थिक क्षति र रोजगार गुम्नेजस्ता भयावह स्थिति उत्पन्न हुने बताए ।
अर्जुनधारा नगरपालिका विपदको उच्च जोखममा रहेको बताउँदै उनले त्यसको रोकथाम, पूर्वतयारी, व्यवस्थापन, आवश्यक सामग्रीका बारेमा आवश्यक छलफल गर्न जरुरी रहेको औँल्याएका थिए । झापाका अधिकांश पालिका विपदकाे उच्च जाेखिममा रहेकाे पनि उनले सुनाए ।
विपदबाट नेपाल उच्च जोखिममा रहेको बताउँदै उनले विश्वको बहुउच्च जोखिमको सूचीमा नेपाल २०औँ स्थानमा, जलवायु परिवर्तनको जोखिममा चौथो, भुकम्पीय जोखिममा ११औँ र बाढीको जोखिममा ३०औँ स्थानमा रहेको तथ्यांक पनि प्रस्तुत गरे ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विपद रोक्न र छेक्न नसकिने भएकाले त्यसको पूर्वतयारी गर्न भने सकिने धारणा राखिन् । उनले खोलानाला प्रभावित नगर भएकाले पनि विपद आउनुअघि सचेत हुन जरुरी रहेको बताइन् ।
नगरकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रममा नेरेसोका हरिशरण खड्काले विपद् न्यूनीकरणसम्बन्धी कानुनी व्यवस्थाका बारेमा आफ्ना भनाइ राखेका थिए । नगरका योजना प्रमुख हिमराज सेडाईंले कार्यक्रम सञ्चालन गरेका थिए ।