झापा । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा-क्याम्पा सडकखण्डअन्तर्गत केराधापमा आज दिउँसो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

 

केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले अपराह्न ४ः४५ बजे ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेका कमल ३ का कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको हो ।

 

घाइते बालकलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

 

स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत बालक जनमलाई विद्यालय छुट्टी भएर घर फर्कनेक्रममा बसले ठक्कर दिएको थियो ।

 

तीब्र गतिमा आइरहेको बसले बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।