गौरादह । सम्बन्ध विच्छेदसम्बन्धी अदालतमा मुद्दा चलिरहेको अवस्थामा दोस्रो विवाह गर्ने एक जनालाई प्रहरीले गौरादहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी १९ तरहराका साजनकुमार चौधरी रहेका छन् ।
बेहुला चौधरीसंगै बेहुलाका बुबासमेत पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । चौधरीलाई प्रहरीले बिहीबार विवाहपछि अन्माउने बेलामा पक्राउ गरेको हो ।
गौरादह २ हिमाल चौककी एक युवतीसंग विवाह गरेका चौधरीलाई बेहुली अन्माउने समयमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो । स्थानीयका अनुसार चौधरीकी पहिलो पत्नीले सम्बन्धविच्छेद गर्न २०७२ सालमै मुद्दा हालेकी थिइन् । मुद्दा विचाराधीन रहेको अवस्थामै चौधरीले छलेर विवाह गरेका हुन् ।
चौधरीले दोस्रो विवाह गरिरहेको थाहा पाएपछि उनकी पहिलो पत्नीले इटहरी प्रहरीमा उजुरी दिएकी थिइन् । इटहरी प्रहरीले त्यसबारे गौरादह प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले बताए । उनले आफूकहाँ उजुरी आइसकेपछि कानुनी कार्वाही अघि बढाउने जानकारी दिए ।
छलेर विवाह गर्ने चौधरी, उनका बुबा र जन्तीलाई दमक प्रहरीमा लगेर बुझाइएको र झुक्याइमा पर्ने पीडित युवतीलाई घरमै राखिएको गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले बताइन् । बेहुला पक्राउ परेपछि जन्तीको बिचल्ली भएको थियो ।