धुलाबारी । झापाको मेचीनगरमा एकाबिहानै हात्तीको आक्रमणमा परी एक बृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका १० स्थित महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् ।

 

वडाध्यक्ष नारायण खनालका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ बजे हात्तीको आक्रमणमा परेकी हुन् । घटनास्थल घरसँगै जोडिएको छ। उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खनालले जानकारी दिए ।

 

स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक प्रक्रिया गरिरहेको छ । महानन्दटोल धुलाबारीको व्यस्त बजार क्षेत्र हो । बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् ।

 

झापामा छ दिनअघि पनि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका २ का ५३ वर्षीय गिरेन कर्मकारकाे हात्तीकाे आक्रमणबाट ज्यान गएकाे थियाे । झापामा चालु आर्थिक वर्षमा मात्रै हात्तीकाे आक्रमणबाट आठ जनाकाे ज्यान गइसकेकाे डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।