झापा । मनसुन सुरु भएयता नेपालमा बाढीपहिरोबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले दिएको जानकारीअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् ।

 

अहिलेसम्म बाढीपहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको शाखाले जनाएको छ । पहिरोबाट मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन् । पहिरोबाट ४५४ घरपरिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ ।

 

यस्तै, बाढीबाट ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । बाढीबाट मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

 

बाढीबाट ११२ घरपरिवार प्रभावित भएको तथ्यांक छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ । त्यस्तै,पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

 

अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पुर्‍याएको छ । संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ ।