झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई शनिबार गृह जिल्ला झापामा भव्य स्वागत सम्मान गरिएको छ । मुख्यमन्त्री थापालाई स्थानीय संघसंस्थाले घरमै भेटेर स्वागत गरे ।

 

यस्तै, नेपाली कांग्रेस झापाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । कार्यक्रममा बोल्दै उनले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

 

‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुनेछ’,थापाले भने, ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’

 

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा उनले राखेका छन् । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धि भएको उनको भनाइ थियो।

 

यसअघि उनले पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा पूजाअर्चना गरेका थिए ।