झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।
खोटाङ राहबेसी गाउँपालिका १ का ४० वर्षीय रमेशकुमार गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
तामाङले असार १३ गतेदेखि व्यवसायी प्रसाईंलाई आफू प्रवेश लामा भनेर फोन गरी ३० करोड रुपैयाँ फिरौती मागेको सीआईबीको भनाइ छ । प्रसाईंको हत्याको योजना बनिसकेको र त्यसबाट बच्नका ३० करोड चाहिन्छ भनेर उनले फोन गरेको सीआईबीले जनाएको छ ।
प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।