झापा । विद्यालयको सेफ्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक छात्रको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धुलाबारीका मेरिना लिम्बूका ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालक लिम्बूको मङ्गलबार बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाले जानकारी दिए ।
लिम्बू धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) मा अध्ययनरत थिए । खाजा खाएर शौचालय जाँदा लिम्बू सोही विद्यालयको शौचालयको सेप्टिक ट्याङ्कीमा सोमबार दिउँसो २ बजे खसेका थिए । उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पुर्याएको थियो ।
बालकको २२ घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यालयको लापरबाहीले बालकको ज्यान गएको अभिभावकहरू बताउँछन् । सेफ्टी ट्याङ्कीमाथि मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताएका छन् ।
२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरू अध्ययनरत छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटना भएलगतै इलाका प्रहरी कार्यालय धुलाबारीले मन्टेश्वरीका सञ्चालक गुरुङलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।