झापा । गएरातिदेखि परेको अबिरल वर्षाका कारण गौरादह नगरपालिका ५ चप्रामारी डुब्बाटोलीका १३ घर डुबानमा परेका छन् । चान्दु खोलाको बाँध नाघेर आएको पानी बस्तीमा पस्दा १३ परिवारको घरआँगनमा अन्दाजी २ फिट जति पानी पसेको हो ।

 

गौरादह ५ चप्रामारी डुब्बाटोली बस्ने जनरा खातुन, मोहमद ताजुकदिन मिया,मोहमद शमशेर मिया, मोहमद अकवर मिया, नकुल राजवंशी,जंगबहादुर राजवंशी, फूलकुमारी शर्मा,मदनलाल शर्मा, तेजु शर्मा, वलिभद्र राजवंशी, राजकुमार खड्का, भिमप्रसाद राजवंशी र भरतलाल शर्माको घर डुबानमा परेको प्रहरी चौकी महारानीझोडाले जनाएको छ ।

 

यसैबीच, भद्रपुरस्थित स्वास्थ्य कार्यालय झापा जलमग्न भएको छ । पश्चिमपट्टिको खोलामा पानी बढेको कारण कार्यालय परिसरमा पानी पसेर जलमग्न भएको कार्यालय प्रमुख रमेश बाराकोटीले बताए । उनले कार्यालयमा क्षति नपुगे पनि जेनरेटरमा पानी पसेको जानकारी दिए ।

 

यसैगरी, हल्दिबारी ५ स्थित सौडागान्धी खोलामा आएको बाढीले एउटा मोटरसाइकल बगाएको छ । आज बिहान १० बजे हल्दिबारी ५ स्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-१३ प ३३०१ नम्बरकाे मोटरसाइकललाई सौडागान्धी खोलामा आएको बाढीले बगाएको थियो ।

 

मोटरसाइकल बगाउँदै गरेको स्थानीयले देखेर तत्काल मोटरसाइकल चालक भद्रपुर ७ का अन्दाजी ३५ वर्षीय सौरव नेपाललाई सकुशल उद्धार गरेका थिए ।

 

मोटरसाइकल खोलाले बगाएको भन्ने खबर प्रहरी चौकी जलथलमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई खोजतलास गर्दा अन्दाजी सय मिटर दक्षिणमा मोटरसाइकल फेला परेको र मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।