बिर्तामोड । झापामा अविरल वर्षाका कारण आएको बाढी घर गाउँमा पसेपछि सयौं घरपरिवार प्रभावित भएका छन् । कनकाई माईमा आएको बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् ।

 

वडा नं १ मिलन बस्तीको ३० घर माईखोलाको बाढीले डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताए । त्यसैगरी वडा नं २ को सडकवाडी गाउँमा ठुलो माई खोलाको बाढी पस्दा ३४ घर डुबानमा परेका छन् । बाढीका कारण घरभित्र पानी पसेको स्थानीय बाढीपीडित सन्तोष राजवंशीले बताए ।

 

डुवान क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाँघनडुब्बाको टोली खटिएर स्थानीयलाई सतर्क गराइएको र पुनः वर्षा भएर जोखिम भएमा सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाका प्रमुख दीपेन्द्रमणि राईले बताए ।

 

यसैगरी, अविरल वर्षाका कारण अधुवा खोलामा पानीको बहाव बढेपछि स्थानीय बाह्रदशी २ नम्बर वार्डको सुकुमबासी बस्ती जोखिममा परेको छ । त्यहाँ बसोबास गर्ने ४५ घरधुरीका करिब १५० जनालाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए ।

 

प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीको सहयोगमा बाढीपीडित र जोखिममा रहेकालाई स्थानीय दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको प्रहरीले जनाएको छ । झापामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने जिल्लाका साना ठुला नदीहरुमा बढेको पानीको बहावका कारण नदीछेउका गाउँबस्ती थप जोखिममा परेका छन् ।

 

जिल्लाको कनकाई माई, रतुवा, बिरिङ, मेची, हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतका नदीहमा हाल पानीको सतह बढेको छ । नदी छेउका बस्तीहरुलाई थप सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।