चितवन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ जुगेडी दासढुंगा नजिक यात्रु बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

 

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भरतपुरको सरकारी अस्पतालमा चालकसहित आठ जनाको उपचार भइरहेको छ ।

 

एक जना घाइते उपचारका लागि काठमाडौं गएका छन् । काठमाडौं गए पनि उनको अवस्था सामान्य रहेको डिएसपी पण्डितले बताए । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम छ । अरू सामान्य रहेको डिएसपी पण्डितले बताए ।

 

बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर जति तल खसेको पण्डितले जानकारी दिए । सडकबाट खसेको बस रूखमा अड्केको थियो । बसमा ४० जना यात्रु थिए । अरूलाई खासै केही नभएको डिएसपी पण्डितले जानकारी दिए ।

 

चितवनका एसपी रामेश्वर कार्कीको नेतृत्वमा घटनास्थल पुगेको २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।