सुनसरी । सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनाको समूहले तीन जना युवतीलाई कुटपिट गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसअघि प्रहरीले घटनामा संलग्न एक जना युवतीलाई पक्राउ गरिसकेको छ ।
घटनापछि फरार रहेका उनीहरुलाई इप्रका महेन्द्रनगरवाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले सुनसरीको ईटहरी बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
असार २९ गते सुनसरी बराहक्षेत्र ९ राजाबासस्थित चिहान डाँडाको कोशी किनारमा १९ वर्षिया मनिषा राईसहित तीन जनाले प्रमिलालाई कुरा लगाइदिएर बेईज्जत गरेको भन्ने आरोप लगाएर तीन जना युवतीलाई ५ जनाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
बराहक्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रिती लिम्बूलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यवहारअन्तरगत मुद्दा चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुई जना भने अझै फरार रहेका छन् ।