बिर्तामोड । झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ । गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको छ ।
साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्यांक अधिकृत चुडामणि लुइँटेलले बताए । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । डेंगी संक्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौंको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगीबाट मृत्यु भएको हो ।