झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बूवान प्रान्तीय समिति सार्वजनिक गरेको छ । भूपेन्द्र मावोको नेतृत्वमा ५९ सदस्यीय प्रान्तीय समिति आइतबार सार्वजनिक गरिएको हो ।

 

बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारीअनुसार समितिको उपाध्यक्षमा डा रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिवमा जीतबहादुर राई र योवाहाङ तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

दमकमा शनिबार पार्टीका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा गठन भएको पार्टीका केन्द्रीय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिए ।

 

दमकमा भएको सोही भेलाले १४बुँदे प्रस्ताव पनि पारित गरेको छ । समितिले पारित गरेको प्रस्तावमा पहिचानविहीन कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहीद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाएका झुट्टा मुद्दा खारेज गर्न माग गरेको छ ।

 

त्यस्तै संघीयताको मर्म अनुसार केन्द्रीय सरकारमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरी सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न, धर्म निरपेक्ष राज्य संस्थागत गरी, सर्वधर्म सद्भाव एवं एकात्मक जातिवादी राज्य संरचनाबाट संघीय लोकतान्त्रिक राज्य संरचना अनुसारको सामाजिक संरचना निर्माण गर्नलगायत १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

 

पार्टीका केन्द्रीय सदस्य पन्धाकले नेपालको संघीयता मोडल अव्यवहारिक र झारो टार्ने मात्र भएको बताए । सात प्रदेश वैज्ञानिक नभएको उनको भनाइ थियो । उनले वैज्ञानिक प्रदेश बनाउनका लागि १० जोड एक संघीय ढाँचालाई पार्टीले अघि सारेको दाबी गरे ।

 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य चेन्जी मावो, प्रान्तीय समितिका सदस्य विशाल चाम्लिङलगायतको समेत उपस्थिति रहेको थियो ।