शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले चिया मजदुरहरुलाई सुरक्षा सामग्री उपलब्ध गराएका छन् । उनले निजी खर्चमा गमबुट र प्लाष्टिकका सेफ्टी सुज उपलब्ध गराएका हुन् ।
८ नम्बर वडामा रहेका निजी तथा अर्धसरकारी ६ वटा चिया बगानमा कार्यरत ५० जना चिया मजदुरलाई सोमबार कार्यस्थलमै पुगेर सामग्री उपलब्ध गराएको उनले बताए । ‘वडाध्यक्ष हाम्रो साथी’ अभियानअन्तर्गत पहिलोपटक सामग्री वितरण गरिएको उनको भनाइ छ ।
वडामा रहेका विपन्न समुदायलाई दुःख, सुखमा सहयोग गर्ने अभिप्रायले अभियान सुरु गरिएको बताइएको छ । वडाध्यक्ष नेता होइन, दुःख सुखको साथी हो भन्ने प्रत्याभूत गराउँदै स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अभियान सक्रिय हुने उनको भनाइ छ ।
मोरङ केनिङ कम्पनीको चिया बगानमा काम गर्ने ३० जनालाई सेफ्टी सुज बाँड्न जाँदा चिया मजदुर खुसी देखिन्थे । वडाध्यक्षले सेफ्टी सुज दिएपछि काम गर्न सजिलो हुने उनीहरुले सुनाए । वर्षौंदेखि सामान्य चप्पल लगाएर काम गर्दै आएका उनीहरुले सेफ्टी सुज पाएपछि चिया मजदुरकाे स्वास्थ्य सुरक्षामा ध्यान दिएकाे भन्दै वडाध्यक्ष उप्रेतीलाई धन्यवाद दिए ।
चिया मजदुरहरु केहीले खाली खुट्टै र भएकाले पनि सामान्य चप्पल लगाएर बगानमा काम गरेको देखेर सेफ्टी फस्ट भन्ने सोचले उनीहरुलाई सेफ्टी सुज उपलब्ध गराएको वडाध्यक्ष उप्रेतीले बताए । उनले भने, ‘हिलोपानी केही नभनेर खटिने उनीहरु कठ्याग्रिंदो जाडो महिनामा पनि चप्पलमै काम गरेको देखेर सानो सहयोग गरेको हुँ ।’
चप्पल लगाएर काम गर्दा धेरै समस्या हुने गरेको चिया श्रमिक सम्झना राईले बताइन् । उनले भनिन्, ‘कहिले चप्पल चुट्टिने, चिप्लिएर लड्दा चोटपटक लाग्ने हुन्छ । धन्यवाद वडाध्यक्ष ज्यू ।’ रोजगारदाताले कामदारको सुरक्षामा ध्यान दिनुपर्ने भए पनि वडाध्यक्षले पहल गरेकोप्रति उनीहरु खुसी देखिन्थे ।
वडाध्यक्ष उप्रेतीले चिया मजदुरलाई खबर नै नगरी बगानमा पुगेर सेफ्टी सुज बाँडेका थिए । बिहानको एकबेला काम सकेर फेरि दिउँसोको काममा फर्किन लाग्दा वडाध्यक्ष उप्रेती बगानमा पुगेका थिए ।
अर्जुनधारा ८ मा पर्ने केनिङ कम्पनीलगायत प्रकाश बुढाथोकी, सुनिल खरेल, खगेन्द्र ढकाल, पृथ्वी बुढाथोकीको निजी चिया बगानमा कार्यरत ५० जना चिया मजदुरलाई सामग्री प्रदान गरिएको हो ।
चिया बगानमा विषादी छर्किने मजदुरलाई गमबुट र अन्य मजदुरलाई सेफ्टी सुज वितरण गरिएको हो । उनीहरुले वडाध्यक्ष उप्रेतीलाई आफ्ना समस्या सुनाउँदै पहल गरिदिन पनि आग्रह गरेका थिए ।



