मोरङ । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेकाले उनको सरकार ३० दिनका लागिमात्रै हुने देखिएको छ ।

 

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो ।

 

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका थिए ।

 

गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने, नजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो । इकान्तिपुरबाट