मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।

 

आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन्‚ जसमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

 

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिए ।

 

मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।