बिर्तामोड । झापाको कनकाई नगरपालिका १ स्थित सिर्जना टोलमा आज दिउसो करिब ५ बजेतिर खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ ।

 

स्थानीय विजय भुजेलकी ४ वर्षीय छोरी निशा भुजेल र प्रकाश जोगीका अढाई वर्षीय छोरा कुमार जोगीको भैँसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताए ।

 

घरदेखि पूर्वमा रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर निशाको घट्नास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर अवस्थाका जोगीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोथियो ।

 

तर, अस्पताल पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले बताए । घटनापश्चात् ईलाका प्रहरी कार्यालय सुरुङगाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिगएको डीएसपी रिजालले जानकारी दिए ।