झापा । अदुवा खोलाले बगाएर कचनकवलका एक व्यक्तिको मृत्यु भएको छ । आज दिउँसो २ः३० बजे अदुवा खोलामा नुहाउन पसेका कचनकवल १ का ८० वर्षीय नरबहादुर राईको डुबेर मृत्यु भएको हो ।

 

उनको शव कचनकवल १ घेराबारीको पुलनजिक साँझ ६ः२० बजे फेला परेको हो । राईलाई खोलाले बगाएको भनी अस्थायी प्रहरी चौकी कुटीमा खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी कुटीबाट ३ जना, ईलाका प्रहरी कार्यालय राजगढबाट ७ जना र बीओपी घेराबारीबाट १० जनाको टोली खटीगई खोजतलास गर्दा फेला पार्न सकेको थिएन ।

 

साँझ ४ः३० बजे प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म चन्द्रगढीबाट १३ जनाको टोली खटिएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेत मिलेर खोजतलास गर्ने क्रममा घेराबारीको पुल नजिक साँझ राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।