संखुवासभा । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो ।

 

कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । गत बुधबार कुटपिटबाट कैदीबन्दी संखुवासभाको मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

 

नियन्त्रणमा लिइएका प्रहरी र कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । कारागारमा रहेको सिसिटिभी फुटेजको आधारमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए ।

 

पीडित पक्षको किटानी जाहेरीको आधारमा म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ९ जना कैदीबन्दी संलग्न भएको देखिएको छ । इकान्तिपुरबाट