संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दी मृत्यु प्रकरण मुछिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रसनि चौधरीसहित कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।

 

चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार चौधरीमाथि अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

पक्राउ पुर्जी जारी भएका कारागार प्रमुख घिमिरेको खोजी भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

 

किटानी जाहेरीपछि शवको पोस्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले आइतबारसम्म शव बुझ्न मानेका छैनन् ।