झापा । झापाको मेचीनगर नगरपालिका ८ निवासी ४३ वर्षीय सुन्दर किसानको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । सुन्दरको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उनको हत्या आफन्तजनबाटै भएको र घटनाको विस्तृत जानकारी भोलि शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीले जनाएको छ । गाईगोरु किनबेच पेसा गर्दै आइरहेका सुन्दरको हँसियाले घाँटी रेटेर हत्या गरिएको छ । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले फेला पारिसकेको छ ।

 

उनको शव बिहीबार बिहान साढे १० बजेको समयमा मेचीनगर ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झाडीमा फेला परेको थियो । मृतक सुन्दर बुधबार साँझ ६ बजे घरबाट निस्किएका थिए । रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले बिहीबार बिहान ७ बजे देखेकी थिइन् ।

 

चप्पल नजिकै रगतका थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेका थिए ।