झापा । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।

 

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भइन्। ती प्रतियोगिताको शनिबार राति भएको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) मा अन्तिम पाँच-पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा स्रोताको मतबाट छानिएका हुन् ।

 

मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहेका छन्। त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहेका छन्।

 

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

 

गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान) ले १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख प्राप्त गरेको छ ।

 

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा थिए भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए।

 

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानेर उनीहरूलाई तीन महिनाअघि नेपालमा प्रतिस्पर्धा गराएको थियो ।