कुमरखोद (झापा)। पूर्वी नाकामा कडाइ गरिएसंगै झापाको झापा गाउँपालिका पछिल्लो समय ब्राउनसुगरको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। भारतको बिहारसँग सिमाना जोडिएको यस पालिकाबाट निरन्तर लागूऔषध ब्राउनसुगरका कारोबारी पक्राउ पर्न थालेका छन् ।
गत आइतबार सशस्त्र प्रहरीद्वारा झापा १ को बेलायतीबारी सीमा इलाकाबाट ४४ ग्राम २८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेको केही दिन नबित्दै सोही स्थानबाट बुधबार दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड १ का २७ वर्षीय निश्चल सुवेदी र झापा २ कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जनाएको छ। बुधबार साँझ ५ः५० बजे को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको सप्रबल नम्बर २ गणका सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।