शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले मृत्युपछि गरिने दाहसंस्कार कर्मलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक कार्यमा पहल गरेको छ ।

 

वडाबासीको मृत्युपछि धार्मिक स्थल कनकाई घाटमा गरिने दाहसंस्कारमा लाग्ने खर्च वडा कार्यालयले व्यहोर्ने गरी कनकाई घाट संस्थासँग सम्झौता गरेको हो । यसका लागि संस्थाका कार्यालय सचिव खेमराज सिवाकोटी र वडाध्यक्ष उप्रेतीले शुक्रबार सम्झौता गरेका छन् ।

 

यस सम्झौतापछि दाहसंस्कारमा लाग्ने ४ हजार ५ सय रुपैयाँ वडा कार्यालयले व्यहोर्ने छ । यसका लागि वडाका सिफारिस वा वडाध्यक्ष तथा वडा सचिवले सम्बन्धित निकायमा फोन सम्पर्क गर्नेछन् ।

 

 

मानवीय सम्वेदनालाई ध्यानमा राख्दै मृत्युपरोन्त पनि सम्मान व्यक्त गर्न वडाबासीका लागि सम्झौता गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए । परिवारका सदस्यको मृत्युले दुःखमा परेका अभिभावकलाई यस सम्झौताले वडाको तर्फबाट थोरै भए पनि राहत पुग्ने विश्वास उनले व्यक्त गरे ।

 

८ नम्बर वडाबासीको मृत्युपछि गरिने दाहसंस्कारमा लाग्ने दाउरा र सरसफाइ शूल्क वडा कार्यालयले व्यहोर्ने सम्झौतामा उल्लेख छ । यो सम्झौता २०८१ असार मसान्तसम्म लागु हुनेछ भने आवश्यकताअनुसार पुनः सम्झौता गरिने भएको छ ।

 

यसैगरी, वडा कार्यालयले गत वर्षदेखि नै वडाका विपन्न परिवारका सदस्यको मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले नगद ५ हजार प्रदान गर्दै आएको छ । वडाको यस कार्य अनुकरणीय रहेको भन्दै प्रशंसासमेत गर्न थालिएको छ ।

 

 

यसले वडाबासीको दुःखमा वडा समिति साथमा छ भन्ने सन्देश प्रवाह गरेको स्थानीयहरू बताउँछन् । अर्जुनधारा ८ को यस कार्य अन्य वडा कार्यालयले समेत अनुशरण गर्नुपर्ने औँल्याइएको छ ।

 

अर्जुनधारा ८ नम्बर वडाले नगरपालिकाको केन्द्र शनिश्चरे बजार क्षेत्रसमेत ओगटेको यस वडामा बजार सौन्दर्यकरण, सार्वजनिक शौचालय निर्माण, कृषि तथा सिँचाइ पूर्वाधारका योजनाहरू, अन्य भौतिक पूर्वाधार विकास, सुरक्षा व्यवस्था, निःशुल्क इन्टरनेट पहुँच विस्तारमात्रै नभएर रोजगारमुलक र क्षमता विकाससम्बन्धी अनेकन् तालिमहरूको आयोजना गरी मानव संशाधन विकासमा अघि बढेको छ ।