एजेन्सी । इलाम क्षेत्र नं २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद थिए। उनी हाल नेकपा एमाले संसदीय दलको उपनेतासमेत थिए।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए। इलामबजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिएका थिए। विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे।
विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको अधिकांशको भनाइ छ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए। उनले देश र जनताका लागि पुर्याएका योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए। ‘पटक-पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ’, उनले भने, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो।’
‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ।’
राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्। इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ। एकाबिहानैको खबरले स्तब्ध भएँ।’
नेकपा माओवादी केन्द्रका जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिस्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताए।
‘कम्युनिस्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रस्ट हुहुन्थ्यो’, उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिस्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु।’