झापा । लागुऔषध कारोबारको कसुरमा पाँचथरको फिदिम नगरपालिकाका दुई युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

 

फिदिम १० याङनामका २६ वर्षीय संगम थाम्सुहाङ र फिदिम ८ रानीटारका २५ वर्षीय सञ्जय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो। थाम्सुहाङलाई उनकै घरबाट र नेम्बाङलाई फिदिम ४ गढी स्थित डेबिट लिम्बूको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

थाम्सुहाङ र नेम्बाङ एउटै मुद्दाका फरार प्रतिवादी हुन्। मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरुलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको हो। १४ ग्राम ब्राउनसुगरको कारोबारमा संलग्न भएको आरोपमा गतवर्षको साउन २ गते इलाका प्रहरी कार्यालय काँकटभिट्टा झापाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको थियो।