झापा । इलामको रोङ गाउँपालिका ३ स्थित कुटीडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइते हुनेमा झापा र मोरङका छन् ।

 

झापातर्फ फर्कंदै गरेको बीएए १६९२ नम्बरको कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिव ३ सय मिटर तल झरेको हर्कटे प्रहरी चौकीले जनाएको छ ।

 

दुर्घटनामा झापा शिवसताक्षी नगरपालिका वडा नं ११ का ३५ वर्षीय मनोज राई, विराटनगर महानगरपालिका वडा नं ७ का ५२ वर्षीय सचिन पोखरेल, सोही ठाउँका २४ वर्षीय अर्जुन महरा, ५७ वर्षीय राजकुमार पौडेल घाइते भएका छन् ।

 

दुर्घटनामा परी घाइते दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी बिर्तामोडको बीएण्डसी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।

 

हर्कटे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश बस्नेत नेतृत्वको प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारका लागि पठाएको इलाम जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुले बताए ।