झापा । नेपालको दक्षिणपूर्वी सीमा नाकाबाट आउँदै गरेको अवस्थामा मेचीनगरका दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

बुधबार साँझ ५ः१० बजे भद्रपुर नगरपालिका वडा नं ५ स्थित मेची पुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मे. ६ प ८६८८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गरेका थियो ।

 

मोटरसाइकल चालक मेचीनगर १५ का ३६ वर्षीय विजयकुमार राजवंशीले लगाएको हेल्मेटभित्र कालो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम ९५० मिलीग्राम फेला परेको थियो ।

 

ब्राउनसुगर फेला परेपछि राजवंशी र मोटरसाइकल पछाडि सवार २६ वर्षीय सुमन राजवंशीसमेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरी प्रहरीले जनाएको छ ।