ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई चोङ्वाङ्ग परिवारले राहत वितरण गरेका छन् । परिवारसहितको टोली बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।
पूर्वी नेपाल तथा नेपालबाहिर रहेका चोङ्वाङ्ग परिवारका सदस्यहरुले पहिरो प्रभावित ६५ परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, दाल दुई किलो, नुन एक किलो र खानेतेल आधा लिटरका दरले राहत सामग्री वितरण गरिएको दीलप्रकाश याक्सो (टाइगर) ले जानकारी दिए ।
स्व चन्द्रबहादुर चोङ्वाङ्ग, स्व नरिमाया चोङ्वाङ्ग (खेबाङ), स्व रामप्रसाद चोङ्वाङ्ग, स्व मीना चोङ्वाङ्ग, स्व मनमाया चोङ्वाङ्ग (ईङ्नाम) र स्व फुलमाया चोङ्वाङ्ग (तुम्बाहाम्फे)को स्मृतिमा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको उनले बताए ।
स्वदेश तथा विदेशमा रहेका चन्द्रबहादुर फागो चोङ्वाङ्गका परिवारका सदस्यहरुको आर्थिक सहयोगमा झण्डै २ लाख ५० हजार रुपैयाँबराबरको खाद्यान्न सामग्री वितरण गरिएको बताइएको छ ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको प्रमुख आतिथ्यतामा राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको थियो । गत असार २ गते राति भीषण वर्षासँगै गएको पहिरोका कारण साँघुको ओदक टोल जोखिममा परेको थियो ।