बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको फायल खोल्न सरकारलाई दबाब दिने उद्धेश्यले बिर्तामोडमा प्रदर्शन गरिएको छ । शनिबार नेकपा माओवादी केन्द्रले उक्त जग्गा प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिने उद्धेश्यले प्रदर्शन गरेको हो ।

 

केपी ओली सरकारले कम्पनीको नाममा रहेको उक्त जग्गा सट्टा भर्नाका लागि ऐन नै संशोधन गरेपछि ‘यो संविधानको प्रावधानसँग बाझिएको र यसमा नीतिगत भ्रष्टाचारको स्थिति रहेको’ भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले २०७८ फागुन २७ मा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

 

इजलासको अर्को पेसी असोज १७ लाई तोकिएको छ । उक्त अन्तरिम आदेश र सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जग्गा खरिदबिक्रीको चर्को चलखेल अघि बढिरहेको तथा जग्गा बिक्रीको बैना लिने काम अघि बढिरहेको बताइएको छ । ओली सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामो गिरीबन्धु टि स्टेटको नाममा रहेको ३३९ विगाह १९ कठ्ठा जग्गा सट्टा भर्नाका लागि ऐन नै संशोधन गराएका थिए ।

 

करोडौँको चलखेल भएको हुनसक्ने उक्त प्रकरणको अनुसन्धानका लागि दबाब दिने उद्धेश्यले प्रदर्शन गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिका अध्यक्ष मोहन सुब्बाले जानकारी दिए ।

 

प्रदर्शनपछि मुक्ति चोकमा आयोजित कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले यस प्रकरणको यथाशिघ्र छानबिन हुनुपर्ने माग गरे । उनले सरकारले राजपत्रमा प्रकाशित गरिसकेको मजदुरको न्यूनतम ज्याला कार्यान्वयनमा बगान सञ्चालकले आनाकानी गरिरहेकाले अबिलम्ब सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउन आग्रह गरे ।

 

प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचारविरुद्धको महाअभियान सफल पारौँ, गिरीबन्धु टी स्टेटको फायल तुरुन्त खोल, गणतन्त्रवादी एक होऔँ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान अन्तर्गत बिर्तामोड ५ ले प्रदर्शन आयोजना गरेको अभियान संयोजक अर्जुन पाण्डेले जानकारी दिए ।