झापा । झापाको भद्रपुरमा आज बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ । भद्रपुर नगरपालिका २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालयनजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार स्थानीयले मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए । हात्ती मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए ।
‘वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो’, डीएसपी रिजालले भने, ‘नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन र त्यहाँ नै मृत्यु भयो ।’ योसँगै झापामा अहिलेसम्म १८ वटा हात्तीको मृत्यु भइसकेको छ ।