झापा । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

अख्तियार इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेको हो ।

 

उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । भद्रपुर ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपैयाँको चेकसहित १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ । सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ ।