शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीगाउँमा पाथीभरा देवी मन्दिरको स्थापना गरिएको छ । एक कार्यक्रमका बीच भोलि (शनिबार) मन्दिरको उद्घाटन गरिने भएको छ ।
स्थानीय व्यवसायी सुरेन श्रेष्ठकाे पहलमा निर्मित मन्दिरको विजय दशमीको फूलपातीका दिन मन्दिर व्यवस्थापन समितिले उद्घाटन गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइयो ।
२०७३ सालमा पहिलोपटक ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्न पुगेका व्यवसायी प्रधानलाई तेस्रो पटकको दर्शन पश्चात् माता पाथीभराबाट सपनामा मन्दिर निर्माण गर्न दैविक भविष्यवाणी भएपछि मन्दिर निर्माणमा आफू जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रेष्ठको भनाइ छ ।
२०७५ सालमा तेस्रोपटक दर्शन गर्न जाने क्रममा बाटोमा भेटिएका ज्येष्ठ भक्तजन दम्पत्तीहरुसँग भएको कुराकानीले पनि आफूलाई मन्दिर निर्माण गर्न थप प्रेरणा मिलेको उनले बताए । यसअघि नै मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गर्ने लक्ष्य लिइए पनि परिवारमा पटक पटक शोक परेकाले सम्भव नभएको उनको भनाइ थियो ।
उनले मन्दिर परिसरसँगै जोडिनेगरी बुबा दिलबहादुर प्रधानको स्मृतिमा पक्की चौतारा पनि निर्माण गरेका छन् । अनुमानित दुई कठ्ठा क्षेत्रफलमा निर्माण भएको मन्दिर र चौताराको कुल लागत सात लाख रुपैयाँ रहेको बताइएको छ ।
त्यसैगरी नवनिर्मित मन्दिरका लागि दाताहरु बिर्तामोड निवासी व्यवसायी राजेन्द्र थापाबाट एक लाख २५ हजार रुपैयाँबराबरको पाथीभरा माताको मूर्ति, खाँदबारी निवासी अपन र निकिता श्रेष्ठबाट २५ हजार रुपैयाँबराबरको शिवजीको मूर्ति र शिवलिङ्ग, कानेपोखरी २ निवासी सौगात श्रेष्ठबाट २२ हजार रुपैयाँबराबरको लक्ष्मी र गणेशको मूर्ति, अर्जुनधारा ६ र ७ निवासी व्यवसायीद्वय गोपाल थापा मगर र प्रकाश ढकालबाट ४० हजार रुपैयाँ बराबरको दुई वटा सिंह र नन्दीको मूर्ति प्राप्त भएको समितिका सचिव प्रणव ढकालले जानकारी दिए ।
त्यस्तै स्थानीय किशोर र मनमाया साउदेनबाट आमाबुबा रत्नबहादुर र हर्कमाया साउदेनको स्मृतिमा १५ केजी बराबरको घण्टी, स्थानीय बबिता प्रधानबाट पति सुरेश प्रधानको स्मृतिमा एक थान कल, एक थान मोटर र एक थान पानी ट्याङकी प्राप्त भएको बताइएको छ ।
वैदिक विधिअनुसार शुक्रबार नै सबै मूर्तिहरुको स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ । उक्त मन्दिरको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र दाता राजेन्द्र थापाबाट संयुक्तरुपमा गर्ने कार्यक्रम रहेको छ ।