शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित गढीगाउँमा नवनिर्मित पाथीभरा देवी मन्दिरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।  झापाकाे पुरानाे बजार शनिश्चरे र खुदुनाबारी जाेड्ने बिरिङ पुल वारिपट्टि सडक किनारमा मन्दिर निर्माण गरिएकाे हाे ।

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन प्रधानको अध्यक्षतामा आयोजित उक्त मन्दिरको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र दाता राजेन्द्र थापाबाट उद्घाटन भएको थियो ।

 

वडाध्यक्ष गोविन्द खतिवडाले स्वागत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडालगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रम उद्घाटन अघि अर्जुनधारा ११ स्थित सालबारी महिला नौमती बाजा समूह, डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम, रुपरत्न अङग्रेजी आवासिय विद्यालयलगायत संघसंस्थाको सहभागितामा कलश यात्रा गरिएको थियो ।

 

मन्दिरमा पाथीभरा देवीसँगै शिवजी र शिवलिङ्ग, लक्ष्मी, गणेश, नन्दी र सिंहको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव प्रणव ढकालले जानकारी दिए ।

 

सामूहिक उद्धार तथा उपकार संघका उपाध्यक्ष रमेश त्रिखत्रीले पाथीभरा देवीको गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन संघका पूर्व अध्यक्ष चर्तुभूज काफ्लेले गरेका थिए । मन्दिर उद्घाटनको सन्दर्भमा समितिकोतर्फबाट साँझ दीप प्रज्वलन र भजनकीर्तन गरिएको थियो ।