बिर्तामोड । कात्तिक ११ गते निर्वाचित अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी तथा सदस्यहरुलाई एकका लागि एक अभियानले स्वागत तथा सम्मान गरेको छ ।
सहारा नेपाल साकोसको सभाकक्षमा आज एक कार्यक्रमका बीच अभियानले उनीहरुलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको हो । एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुकुन्द मुकुन्द ढुंगानालगायतका पदाधिकारीलाई स्वागत सम्मान गरियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानाले कोरोना महामारीका बेला एक लागि एक अभियान गरिएको सहकार्य सुखद् र उपलब्धिमूलक रहेको बताए । उनले विश्वभरि छरिएर रहेका झापालीले झापाको विकासका लागि सक्दो काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
उनले अभियानसँग निरन्तर सहकार्य गर्दै अघि बढ्नेसमेत प्रतिबद्धता जनाए । त्यस्तै, झापा गोल्डकपसँग पनि सहकार्य गर्ने उल्लेख गरेका उनले झापाको समृद्धिका लागि स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा लगानी गर्दै सहकार्य गर्न समाज तयार रहेको पनि सुनाए ।
कार्यक्रममा समाजका संरक्षक एवम् पूर्व अध्यक्ष दिनेशकुमार पोखरेलले निरन्तरको प्रयासपछि आफूहरु जन्मे–हुर्केको झापाको विकासका समाज गठन गरिएको बताए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विदेशलाई कर्मथलो बनाएका झापालीहरुले आफ्नो गाँस काटेर झापाको विकासमा पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई र चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवालले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै झापाको सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान उच्च रहेको बताए ।
कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले पाँच करोडको विपद कोष निर्माणका लागि आफूहरु लागिपरेको बताउँदै कोराना महामारीका बेला अभियानअन्तरगत संकलित करिब चार करोड रुपैयाँमध्ये ३ करोड २० लाख खर्च भएको र ८० लाख रुपैयाँ बचत रहेको जानकारी दिए ।
आर्थिक तथा सामाजिक रुपान्तरणमा अन्तर्राष्ट्रिय झापाली समाजले थप योगदान गर्नु सुझाव दिँदै उनले यहाँका उत्पादनलाई बजारीकरणमा समेत समाजले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानले गरेका कामको जानकारी दिँदै सबैका सहयोगले अभियान सफल भए पनि अन्तर्राष्ट्रिय झापाली समाजको योगदान महत्पूर्ण रहेको बताए । कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।