झापा । भारतबाट मोटरसाईकलको हेण्डिलमा प्वाल पारेर ब्राउनसुगर ल्याउने दुई जना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेका छन् ।
बिहीबार साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट नेपालतर्फ आउदै गरेको को. १४ प ४७६१ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोटरसाइकलको हेण्डिलको बाँया साइडको प्वालमा कालो रंगको प्लाष्टिकमा राखिएको ७ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक भुपाल र पछाडि सवार सिजनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।