बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका ४ मा बच्चा चोरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।
अन्दाजी २५ वर्षका एक युवालाई बच्चा चोरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाका छोरालाई कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।
स्थानीयले ती युवालाई कुटपिट पनि गरेका छन् । भारतको इस्लामपुर घर भएका ती भारतीय युवाको नाम बुद्ध उराव भएको र उनी गोलधाप भुतेनी खोला पारी बस्दै आएको बताइएको छ ।
उनको मानसिक सन्तुलन ठीक नभएको आशंका पनि गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।