बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा तीन जना र बिर्तामोडको गरामनीमा एक जना पक्राउ परेका हुन् ।
मंगलबार राति ९ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित नयाँ बसपार्कमा कोठा भाडा लिई बस्ने भारतको बिहार राज्य अररिया जिल्ला बतनाहा भटयाही २२ निवासी अन्दाजी १९ वर्षका प्रियन्सुकुमार मण्डल, जोगवनी खजुरवाडी १५ का अन्दाजी १९ वर्षका मोहम्मद लाल भन्ने साहिल सेख र सोही ठाउँ घर बताउने अन्दाजी २३ वर्षका मोहम्मद काजीम आलम पक्राउ परेका हुन् ।
उनीहरुले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनीहरुले बोक्ने कालो ब्याग (झोला)भित्र लुकाई छिपाई राखेको १४ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
त्यस्तै हिजो साँझ ७ः३० बजे नै बिर्तामोड ८ गरामनीस्थित भद्रपुर-बिर्तामोड सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनापछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी टोली गएर बुझ्दा मोटरसाइकल चालक बिर्तामोड २ का २५ वर्षीय प्रतिक राईलाई चोटपटक नलागे पनि नशालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गरिएको थियो । उनको साथबाट ३ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
बरामद लागूऔषधसहित ४ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।