उर्लाबारी । मोरङको उर्लाबारी ७, इटरोडस्थित दीपक कार्कीको सुन पसलमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवको कार्यकक्षमा सोमबार बिहान बसेको आकस्मिक बैठकपछि घाइतेको थप उपचारका लागि काठमाडौं पठाउने निर्णय भएको थियो ।

 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उर्लाबारी ७ का विशाल बस्नेत, शिवकुमार विक, रामनरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुइटेल र तारामान सेरेङलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पठाइएको हो ।

 

यस्तै नेपाली सेनाको जहाजमा काठमाडौं पठाइएका घाइतेमा कुमार तामाङ, अलिबाबु मन्सुर छन् । यसैगरी भोजपुर नगरपालिका वडा ४ का प्रसनि चुडामणि प्रधान, कनकाई नगरपालिका वडा ५ का प्रहरी जवान दिलकुमार आचार्य र संखुवासभाको सिलिचोङ गाउँपालिका वडा १ का प्रहर जवान ऋद्धिकिरण राईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

 

उनीहरूको विर्तामोडको बीएण्डसी र विराटनगरका विभिन्न ३ वटा अस्पतालमा उपचार भइरहेको थियो । उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका वारुणयन्त्र उर्लाबारी ३ स्थित लक्ष्मी थापाको गोठमा लागेको आगो निभाउन घटनास्थलमै रहेको बेला उर्लाबारी ७ को सुन पसलमा समेत आगलागी भएको थियो ।

 

दमक नगरपालिका, कमल गाउँपालिका र कानेपोखरी गाउँपालिकाका वारुणयन्त्र घटनास्थलमा पुग्न ढिलो हुँदा आगो नियन्त्रणमा लिन स्थानीय र प्रहरीले प्रयास गरेका थिए । सोही क्रममा घरभित्र रहेको बा. १-०२५-च ६८४६ नम्बरको कार बिस्फोट हुँदा २८ जना घाइते भएका थिए । गोरखापत्र अनलाइनबाट