झापा । भारतीय सीमा नाकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवक र अर्का युवती रहेका छन् ।
शनिबार दिउँसो ३ः१० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर १० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ३०० सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
त्यसैगरी, शनिबार नै दिउँसो ३ः२५ बजेको समयमा झापा गाउँपालिका वडा नम्बर ४ स्थित सुकुम्बासी टोल जाने बाटोमा प्रहरी चौकी टाँघनडुब्बा र बीओपी टाँघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी शिवसताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउत ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
उनलाई शंका लागेर चेकजाँच गर्दा कपालभित्र राखी लुकाईछिपाई ल्याउँदैं गरेको १ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।