झापा । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

 

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

 

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

 

यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

 

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।